सुकिला नोटको वितरण आजबाट सुरु

तु खबर संवाददाता
२०८१ आश्विन १३,आईतवार ०९:१८

काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैँका लागि नेपाल राष्ट्र बैंकले ‘सुकिला नोट’ को वितरण आजबाट सुरु गर्ने भएको छ । बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य–मुख्य शाखाहरूबाट नोट सटहीको गरिने बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए ।

उनका अनुसार, त्यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराइसकेको छ ।

सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेको उनले बताए ।