पहिरोमा परी बेपत्ता वत्सलादेवीका ६ विद्यार्थीको शव फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ६ विद्यार्थीको शव भेटिएको छ ।
कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर ताल भरिएर शनिबार विहान जलाशयको २ वटै ढोका खोलीएपछि विद्यालयको छात्राबासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा बेपत्ता भएका ६ जना बेपत्ता भएका थिए ।
बेपत्ता ६ जनाको नै शनिबार साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शव फेला पर्नेहरुमा क्रमशः मकवानपुरका अनुपम घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योञ्जन रहेका छन् ।
मृतक घलान जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितकुमार घलानका छोरा हुन् ।
मृतक सबैको शव पोस्टमार्टमका लागि शनिबार नै काठमाडौं पठाइएको छ ।
वत्सलादेवी माविमा संचालित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा ४० जना विद्यार्थी अध्ययनरत थिए । एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए । अन्य ३४ जना भने सकुशल रहेका छन् ।
सुरक्षित रहेका ३४ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लैगिएको छ ।