जलसतह घटेसँगै बन्द गरियो कुलेखानी ड्यामको ढोका
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ स्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को जलसतह घटेसँगै दुबै ढोका बन्द गरिएको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि शनिबार खोलिएको ड्यामको दुबै ढोका आज बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
उनका अनुसार, कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता छ । तर, शनिबार उक्त क्षमताभन्दा बढी पानी भरिएर खतराको संकेत देखिएपछि दुबै ढोका खोलिएको थियो ।
यसैबीच वर्षा रोकिएपछि पहिरोका कारण अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने विभिन्न सडकखण्डमा आज बिहानैदेखि पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।