माओवादी केन्द्रद्वारा केन्द्रीय राहत कोष स्थापना

तु खबर संवाददाता
२०८१ आश्विन १४,सोमबार १५:४०

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढी–पहिरो–डुबानलगायत विपद् पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।

आइतबार बसेको पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय राहत कोष स्थापना गरेको केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने जनाइएको छ ।

राहत कोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । सो केन्द्रीय राहत कोषमा संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यहरूले १०–१० दिनको पारिश्रमिक जम्मा गर्न भनिएको छ भने स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वैच्छिक सहयोग गर्न परिपत्र गरेको छ ।

त्यस्तै, पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने व्यवस्था पनि मिलाइएको छ ।