हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ पुन: सुरु हुन अझै दुई साता लाग्ने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड पुन: सुरु हुन अझै दुई साता लाग्ने भएको छ ।
मंगलबार हेटौंडा–ठिंगन–बकैया हुँदै बागमती पुलसम्मको अवलोकनपछि डिभिजन सडक कार्यालय मकवानपुरका प्रमुख गुरु अधिकारीले उक्त सडक पुनर्निर्माण गरी सुचारु गर्न दुई साता लाग्ने बताएका हुन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललगायतको टोली सडकखण्डको अवलोकनका लागि पुग्दा प्रमुख अधिकारीले पुनः निर्माणका लागि दुई साता लाग्ने जानकारी गराएका थिए ।
गत शुक्रबार र शनिबारको अविरल वर्षापछिको बाढीपहिरोले कान्ति लोकपथअन्तर्गत मकवानपुरको खोरभन्ज्याङ र बगुवा क्षेत्रमा ठुला पहिरो झरेको छ । पहिरोले मकवानपुर र ललितपुर जिल्ला जोड्ने बागमती नदीमाथिको बगुवा पुलको पश्चिम भाग मकवानपुरतर्फ ठुलो क्षति पुर्याएको छ ।
बागमतीले मकवानपुरको बागमती गाउँपालिका– ८ महादेवटारतर्फ पुलबाट झण्डै १५ मिटर स्ल्याब र करिब चार सय मिटर कालोपत्रे सडक बगाएको छ । प्रमुख अधिकारीका अनुसार अहिले बागमती नदी सोही कालोपत्रे सडक भएको स्थानबाट बगिरहेको छ ।
उनले तत्काल खोलाको धार अन्यत्र मोडेर पुल र पुलसम्मको पहुँच मार्ग निर्माण गर्न सकिने बथाए ।