दुर्घटनामा परेर मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २२,मंगलवार १७:४९
File Photo

बुटवल । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बदेलपोखरी माथिको नुवाकोट डाँडाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरु सोमबार साँझ पाल्पाको तिनाउ गाउँपालिका २ मा पर्ने नुवाकोटमा बास बसेर मंगलबार बिहान लु ४१ प २०१० नम्बरको मोटरसाइकलमा बुटवल फर्कंदै थिए ।

बुटवल– १३ मा पर्ने नुवाकोट भ्यू प्वाइन्ट निर आउँदा मोटरसाइकल सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।