बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम बढ्यो

तु खबर संवाददाता
२०८१ आश्विन २३,बुधबार ०९:५४
file-photo

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम बढ्दो छ । प्रदेशमा चालु आर्थिक वर्षको साउनयता डेंगु रोग संक्रमणले तीब्रता लिएको छ ।

प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहे्क सबै जिल्लामा डेंगु संक्रमण फैलिएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, गत साउनमा ८४७ जनामा डेंगु संक्रमण भएकोमा असोज महिनाको २१ गतेसम्ममा डेंगु संक्रमितको संख्या छ हजार ६२९ जना पुगेको छ ।

साउनयता डेंगु संक्रमण तीव्र गतिमा फैलिएको सो प्रदेशमा गत भदौ महिनामा गरी दुई हजार १६२ जना र असोज महिनाको हालसम्म तीन हजार २६८ जनामा डेंगु संक्रमण भइसकेको मन्त्रालयको तथ्याक्कमा उल्लेख छ ।

सो अवधिमा सबैभन्दा धेरै डेंगु संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन् । त्यहाँ दुई हजार २१४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसतै, चितवनमा एक हजार ८४६ जनामा, मकवानपुरमा ७१ जनामा, ललितपुरमा ६२९ जनाना, सिन्धुली जिल्लामा ३७२ जनामा र काभ्रेपलाञ्चोकमा १६७ जनामा पुष्टि भएको जनाइएको छ ।