मनहरीमा नौ जना खेलाडी निर्धात कुटिए, दुई जना आइसियुमा

तु खबर संवाददाता
२०८१ आश्विन २९,मंगलवार १२:०७

हेटौंडा । दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुरको मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् ।
घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । यही असोज २८ गते सोमबार मनहरी गाउँपापलिका वडा नं २ र ३ का फुटबल टोलीका बीचमा वडा नं ३ स्थित सिद्धकाली चौरमा फुटबल खेल आयोजना गरिएको थियो । सो खेलको क्रममा विवाद उत्पन्न भएपछि वडा नं ३ (आयोजक) पक्षले विपक्षी टोलीमाथि निर्धात कुटपिट गरेको हो ।

कुटपिटमा नौ जना घाइते भएका छन् । घाइते मध्ये २१ बर्षिय सुरेन्द्र घलान र १९ बर्षिय सुजन जिम्माको हेटौडास्थित चुरेहिल अस्पतालको आइसियुमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । दोहोरो झडप सुरुमा सामान्य भएपनि पछि सिंगो गाउँले उठाएर खेलाडीमाथि कुटपिट गरिएको कुटाइ खाएका खेलाडीहरुको भनाई छ ।

घटनामा घाइते भएका निखिल गौंङ्वा, विराज गौङ्वा, आकाश मोक्तान (क), आकाश मोक्तान (ख), रञ्जित थिङ, सोनाम मोक्तान, पाल्टेन मोक्तानसहित ९ जना घाइते भएका छन् । अन्यको जनरल वार्डमा उपचार भइरहेको छ ।

घटनाको सुरुमा स्थानीय बलराम चेपाङका छोरा अरुण चेपाङ र सरोज चेपाङसँग विवाद भएको थियो । घाइते खेलाडीका अनुसार अरुण चेपाङ तथा सरोज चेपाङ, स्थानीय रोहित गौंङ्वा, रविन घलान, जोखे चेपाङ्, भीमसेन चेपाङ्, धने गौंङ्वा, दोर्जे गौंङ्वा नाम गरेका युवाहरुले आक्रमण गरेका थिए ।

यतिठूलो घटनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले खासै चासो नदिएको पीडितहरुको गुनासो छ । स्थानीय पीडितहरुले तत्कालै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही गर्न र घाइते खेलाडीहरुको उपचारको व्यवस्था गर्न माग गरेका छन् ।