हेटौंडा उपमहानगरपालिकाले करको दर हेरफेर नगर्ने

तु खबर संवाददाता
२०८१ कार्तिक १,बिहीबार ०९:३५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले करको दर हेरफेर नगर्ने भएको छ । बुधबार बसेको विशेष नगरसभाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले चालु आर्थिक वर्ष २०८१–०८२ मा करको दर घटबढ नगर्ने निर्णय गरेको हेटौंडा–१ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार, ‘करको दर र दायरा’ हेरफेर गर्नका लागि विशेष नगरसभाको पहिलो बैठकले हेटौंडाका उपमेयर राजेश बानियाँको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई विशेष नगरसभाको दोस्रो बैठकले पारित गरेसँगै यस वर्ष करको दर आर्थिक ऐनमा भए अनुसारकै हुने प्रवक्ता न्यौपानेले बताए ।

कार्यदलले तयार पारेको प्रतिवेदन उपमहानगरको मंगलबार बसेको ५५ औं कार्यपालिका बैठकमा उपमेयर बानियाँले पेश गरेका थिए । उक्त प्रतिवेदन विशेष नगरसभाको दोस्रो बैठकमा निर्णायार्थ पेश गरिएकोमा सर्वसम्मतरुपमा पारित भएको हो ।