हेटौंडा जेसीजद्वारा विश्वज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग

तु खबर संवाददाता
२०८१ कार्तिक ८,बिहीबार ११:१७

मकवानपुर । हेटौंडा जेसीजले हेटौंडा उपमहानगरपालिका वडा नम्वर चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बुधबार जेसीज हेटौंडा वर्ष २०२४ का अध्यक्षसहितको टोली विद्यालय पुगेर शैक्षिक सामग्री सहयोग गरेको हो । जेसीज सप्ताह २०२४ अन्तर्गत विद्यार्थीलाई आवश्यक कापी, कलम, किताब, खेलकुदको सामाग्रीहरुको सहयोग जेसीआई हेटौंडाका कार्यकारिणी उपाध्यक्ष तथा सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिए ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयका ५० जना विद्यार्थीलाई करिब ६० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिए । हेटौंडा जेसीजले सन् २०१५ देखि विश्वज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्रीहरु सहयोग गर्दै आएको उनले बताए । विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर १ वर्षका लागि पुग्नेगरी शैक्षिक सामग्री प्रदान गर्ने गरेको जेसीजले जनाएको छ ।

हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौँडा–८ का वडाध्यक्ष रामकृष्ण थापा र ९ का वडाध्यक्ष सुकराम केसी, जेसीआई हेटौँडाका पूर्वअध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

हेटौंडा जेसीजले सन् २०१९ मा विद्यालयमा शिक्षाको व्यवस्था गरिएको र सन् २०२० मा विद्यालयमा विद्यालयका लागि पानीको व्यवस्था गरिएको उनले बताए ।