मकवानपुरमा रक्षा संवाददाता अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न

तु खबर संवाददाता
२०८१ कार्तिक ९,शुक्रबार ०९:४८

मकवानपुर । मकवानपुरमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी) सम्बन्धी पाँच दिने तालिन सम्पन्न भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा गत कात्तिक ४ गतेबाट सुरु भएको उक्त तालिम बिहीबार सम्पन्न भएको हो ।

भीमफेदी गाउँपालिका वडा नम्वर १, स्थित श्री मध्य पृतना हे.क्वा सुपारेटार ब्यारेकमा भएको तालिममा मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका मकवानपुर, धादिङ, चितवन, रसुवालगायतका जिल्लाहरुबाट १५ जना सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।

तालिममा नेपाली सेनाको शान्ति स्थापनामा योगदान र अन्तर्राष्ट्रिय मिशनहरूमा भूमिका, सेनाको भर्ती प्रक्रिया, महिला सहभागिता र राष्ट्रिय सुरक्षा नीतिबारे, सेनाले देशभित्रका सुरक्षा चुनौतीहरू समाधान गर्न अपनाएको संरचना र रणनीतिबारे विस्तृत जानकारी गराइएको थियो ।

तालिमको अवसरमा सेनाका अधिकारी र सञ्चारकर्मीहरुबीच मैत्रीपूर्ण फुटसलको आयोजना गर्नुका साथै सञ्चारकर्मीहरुलाई चितवन राष्ट्रिय निकुञ्जको (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष), एतिहासिक मकवानपुरगढी र तराई–मधेस–द्रुत–मार्ग परियोजनाको अवलोकन पनि गराइएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको स्थलगत अवलोकन पछि लिइएको सामूहिक तस्बिर ।

सो तालिमको मध्य पृतनापति उपरथी प्रदीप जङ्ग केसीले समापण गरेका थिए । सो क्रममा बाल्दै उनले राष्ट्रको सुरक्षादेखि राष्ट्रिय एकतासम्मका विविध क्षेत्रमा सेनाको भूमिकाबारे चर्चा गरेका थिए ।

उनले राष्ट्र निर्माण र विकासमा सेनाले खेलेको भूमिका अझ प्रभावकारी बनाउन सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको औल्याउँदै सेनाको जिम्मेवारी र कार्यप्रणालीको सही जानकारी आम जनतासम्म पुर्याउन सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

यस्तै, नेपाली सेनाको कार्यप्रणाली, संगठनात्मक संरचना र भूमिकाबारे नजिकबाट निकाल्ने मौका मिलेको भन्दै सेनाको कार्यशैली र योगदानबारे जनतासमक्ष प्रत्यक्ष जानकारी गराउन आगामी दिनमा पनि सञ्चारकर्मी र नेपाली सेनाको समन्वय आवश्यक रहेको तालिममा सहभागी सञ्चारकर्मीहरुले बताएका थिए ।

समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मध्य पृतनापति उपरथी केसीले तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । साथै उक्त तालिममा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै उनले मेजर बासु थापालाई पनि मायाको चिनो प्रदान गरेका थिए ।