सिस्नेरी पहिरोः मृतकका परिवारद्वारा दोषीलाई कारबाही गर्न माग

तु खबर संवाददाता
२०८१ कार्तिक १०,शनिबार ०९:१८

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएका बाल खेलाडीको परिवारले दोषीलाई कारबाही गर्न माग गरेको छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै मृतकका परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ६ बाल खेलाडीको गत असोज १२ गते पहिरोमा पुरिएर मृत्यु भएको थियो । उनीहरु अखिले नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा बस्दै आएका थिए ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको प्रधानमन्त्री र पीडित परिवारको भेटमा अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापर्वाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरिएको हो ।

पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको भन्दै के– कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाए । उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट पारे ।

सो क्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधान सभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामालगायतको सहभागिता रहेको थियो ।