दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

तु खबर संवाददाता
२०८१ कार्तिक १०,शनिबार ०९:३५

बुटवल । दाङमा आज बिहान बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

यस्तै, सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वली घाइते भएका छन् ।

उनीहरुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जनाइएको छ ।