चन्दन स्विट्सलाई ५० हजार जरीवाना, बेकरीमा म्याद गुज्रिएका सामग्री

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १६:२७

मकवानपुर । हेटौंडाको बुद्धचोकस्थित चन्दन स्विट्सलाई ५० हजार रुपैयाँ जरीवाना गरिएको छ ।

बजार अनुगमन टोलीले अनुगमनका क्रममा लेबल विवरण नभएको घिउ बिक्रि गरिरहेको फेला पारेपछि जरीवाना गरेको हो ।

खाद्य सुरक्षाका दृष्टिकोणले लेबल नभएका उत्पादनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै जरीवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जनाएको छ ।

आज अनुगमनमा प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशीनाथ घिमिरे, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख राम प्रसाद भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल गण नम्बर १४ का प्रहरी उपरिक्षक ज्ञानप्रसाद भुर्तेल, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार अग्रवाल, र संचारकर्मीहरूको उपस्थिति थियो।

अनुगमनको क्रममा, खाद्य पसल, मिठाई पसल र मार्ट गरि ७ वटा पसलहरुमा छानबिन गरिएको थियो । विशेषगरी, हिमालयन स्वीट्स र हिमालयन बेकरीमा अखाद्य तेल र म्याद गुज्रिएका सामग्रीहरू भेटिएको थियो । हिमालयन स्वीट्सबाट १ लिटर अखाद्य तेल र हिमालयन बेकरीबाट करिब २ लिटर म्याद गुज्रिएका खाद्य सामग्रीहरू तत्काल नष्ट गरिएको थियो ।