फास्टट्रयाकः मकवानपुरको लेन डाँडामा नेपालकै सबैभन्दा अग्लो पुल बन्दै

सम्झना थापा
२०८१ कार्तिक १२,सोमबार ०८:२६

मकवानपुर । नेपालकै सर्वाधिक महत्वपूर्ण पूर्वाधार परियोजनाको रुपमा हेरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तरगत मकवानपुरको लेन डाँडास्थित हाल ब्रिज (पुल) निर्माणाधीन अवस्थामा छ ।

मकवानपुरको मकवानपुगढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो र नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी  पुल बन्दै गरेको लेन डाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए ।

प्रमुख सेनानी गौतमले केही दिनअघि नेपाली सेनाले आयोजना गरेको रक्षा संवाददाता तालिम अन्तरगत अवलोकनमा पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो जानकारी गराएका हुन् ।

जितपुल खोलामा निर्माण भइरहेको उक्त पुल सम्पन्न हुँदा करिब ८१ मिटरसम्म उचाईको अग्लो हुने प्रमुख सेनानी गैतामले बताए । सो पुल प्रि क्यान्टिलिभर मेथडबाट निर्माण गरिरहेको उनले बताए । उनले भने, ‘उक्त पुल अहिलेसम्मकै सबैभन्दा अग्लो र लामो भएको कारण तलबाट फर्मा लगाउन सम्भव नभएको र लङचिङ गर्न पनि अप्ठ्यारो हुने भएकोले प्रि क्यान्टिलिभर बिधिबाट निर्माण गरिरहेका छौं । यो मेथड कम मात्रामा प्रयोगमा आएको नयाँ टेक्नोलोजी हो ।’

उनका अनुसार, द्रुतमार्गको प्याकेज नं. ३ अन्तर्गत पर्ने सुरुङ मार्ग (टनेल) को काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर र निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङ मार्ग क्रमशः असार र जेठमा छिचोलिसकेको थियो । ती टनेलको सेकेण्डरी कामहरु भइरहेको छ ।

राष्ट्रिय गौरबको आयोजनामा रहेको उक्त द्रुतमार्गको काम नेपाली सेनाको व्यवस्थापनामा भइरहेको हो । ७१ दशमलव ५ किलोटिर लामो यस मार्गमा ८९ वटा ठूला पुलहरु र ६ वटा सुरुङहरुको निर्माण गर्ने योजना छ ।

तीमध्ये हाल ३ वटा सुरुङ र ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्यको निर्माण कार्य भइरहेको छ । द्रुतमार्गको भौतिक प्रगति (काम) चालु आर्थिक वर्ष २०८१–०८२ को त्रैमासिक अर्थात् असोज मसान्तसम्म ३६ दशमलव ४२ प्रतिशत मात्रै भएको छ ।

द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८ दशमलव ५५ प्रतिशत छ । यो सात वर्षको अवधिमा भएको नेपाली सेनाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

द्रुतमार्ग अन्तरगत ६ वटा सुरुङ्ग मार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर रहेको छ । नेपाल सरकारले फास्ट ट्रयाक निर्माणको व्यवस्थाको चुनौतिपूर्ण कार्य वि.सं २०७४ साल बैशाख ४ गतेबाट नेपाली सेनालाई सुम्पिएको थियो ।

नेपाल सरकारबाट निर्माण व्यवस्थाको जिम्मेवारी पाए लगतै नेपाली सेनाले वि.सं. २०७४ जेठ १४ गतेबाट निर्माणकार्य सुरु गरेको थियो । उक्त निर्माण कार्य तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बारा जिल्लाको निजगढमा शिलान्यास गरेका थिए ।

यसरी बन्दैछ पुल ।