बाढीपहिरोबाट मकवानपुरमा साढे १ अर्बभन्दा बढीको क्षति

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १५:५७

मकवानपुर । गत असोजको दोस्रो साता गएको बाढीपहिरोबाट मकवानपुरमा साढे १ अर्बभन्दा बढीको क्षति भएको छ ।

गत असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट जिल्लामा १ अर्ब ६९ लाख ३५ हजारभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रारम्भिक तथ्यांकका आधारमा उक्त क्षति भएको पाइएको हो ।

जिल्लाको १० पालिकामध्ये सबैभन्दा धेरै इन्द्रसरोवर गाउँपालिकामा क्षति पुगेको छ । इन्द्रसरोवरमा मानवीय र भौतिक एवम् पूर्वाधारको क्षति पुगेको हो ।

जिल्लामा बाढीपहिरोमा परेर १० जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका अध्यक्ष एवं प्रजिअ तीर्थराज चिलुवालले जानकारी दिए ।

उनका अनुसार, जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा ६ जना, मनहरी गाउँपालिकामा २ जना, मकवानपुरगढीमा एक जना र बागमती गाउँपालिकामा १ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको हो ।

यस्तै, बाढीपहिरोमा परेर ६ जना घाइते भएका छन् । घाइते हुनेमा थाहा नगरपालिकाका–२, भीमफेदी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाका एक–एक जना रहेका छन् ।

यस्तै, सो अवधिमा बाढीपहिरोले १० पालिकाका १ सय ३० घर पूर्ण क्षति भएका छन् भने १ सय ८३ घरमा आंशिक क्षति पुर्याइएको छ ।

यसैगरी, बाढीपहिरोले मकवानपुरमा ५ वटा पालिकाका १६ वटा झोलुङ्गे पुल बगाएको छ भने मकवानपुरमा १० वटा पालिकाका २३ हजार ७९ रोपनी जग्गाको बालीनाली नष्ट गरेको छ ।

सो अवधिमा मकवानपुरको ४ हजार १ सय ३६ चौपाय मरेका थिए भने खानेपानी, विद्युत् र अन्य पूर्वाधार गरी ५८ वटालाई क्षति पु¥याएको तथ्यांकमा उल्लेख गरिएको छ । बाढीपहिरोले २१ सडक र राजमार्गमा क्षतिग्रस्त बनाइएको थियो ।