मकवानपुर प्रहरीद्वारा तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १७:३७

मकवानपुर । मकवानपुर प्रहरीले छुट्टाछुट्टै घटनामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध चाँदीसहित एक जना र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

प्रहरीले २ किलो १९६ ग्राम अबैध चाँदीसहित गएराति हेटौंडा उपमहानगरपालिका वडा नं. १५, स्थित रातोमाटे चेकपोईन्ट अगाडि पूर्व–पश्चिम सडकखण्डबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला जेटीयाही पन्चायत पर्जुआर टोल बस्ने वर्ष ४८ को मनोज कुमार झा रहेका छन् । उनलाई विशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पथलैयातर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नं.को यात्रुबाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा उक्त बसमा सवार उनको साथबाट ३२ थान चाँदीको मुर्तीहरु बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, लुकाई छिपाई ल्याएको उक्त मुर्तीहरुको तौल गर्दा २ किलो १९६ ग्राम भएको छ । सो मूर्तिको आजको बजार मूल्य ३ लाख ६६ हजार ५४९ रुपैयाँ रहेको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

यसैगरी, प्रहरीले लागूऔषध खैरो हिरोइन २२२ ग्राम २६ मि.ग्रामसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहान साढे २ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट लागूऔषध खैरो हिरोइनको धुलो २२२ ग्राम २६ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.७ बस्ने वर्ष ४१ को दामोदर लुईटेल र सोही ठाउँ बस्ने वर्ष १८ को सन्देश राज धामी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

उनका अनुसार, काकटभिट्टाबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४४३ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका उनीहरुको साथबाट सो परिणामको लागूऔषध बरामद भएको हो ।

बरामद लागूऔषधसहित पक्राउ परेका उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।