हेटौंडामा रास्वपाको विरोध र्याली

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १९:२४

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडामा विरोध र्यालीको आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा मकवानपुरले सोमबार र्यालीको आयोजना गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–१०, स्थित रास्वपा मकवानपुरको पार्टी कार्यालयबाट सुरु भएको र्याली भुटनदेवी मोड, टिसियन रोड, बसपार्क, बुद्ध चोक, उद्योग वाणिज्य संघ, मानस चोक, कांग्रेस चोक, संगम चोक र कान्तिराजपथ हुँदै सिमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा उनीहरुले ब्यानर, पम्प्लेट र राष्ट्रिय झण्डाहरु बोकेर टाउकोमा निलो रिबन बाँधी सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘काण्डैकाण्डै उदाङ्ग छ, अब सरकार नाङ्गो छ’, ‘सहकारी पीडितलाई न्याय दे, बास्तविक सहकारी ठगलाई कारबाही गर’ र ‘न्याय मार्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

कार्यक्रम रास्वपा युवा सङ्गठन द्रुत कार्य टोली बागमतीका सभापति महेन्द्र श्रेष्ठको सभाध्यक्षता तथा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद विन्दवासिनी कंसाकारको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा रास्वपा मकवानपुर सङ्गठन बिभाग प्रमुख बिशालराज महत, रास्वपा हेटौंडा उपमहानगर समिति उपसभापति हरिबहादुर कुँवर, रास्वपा हेटौंडा उपमहानगर ४ न. वडा समिति सभापति रामहरि प्रसाईलगायत अन्य नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पार्टी सभापति लामिलानेलाई सरकारी ठगीको आरोपमा पक्राउ गरिएपछि रास्वपाले काठमाडौं, पोखरालगायतको शहरमा प्रर्दशन गर्दै आएको छ ।