मलेसियन नागरिकसहित चार जना प्रहरीको नियन्त्रणमा
सिरहा । प्रहरीले ठगीको आरोपमा एक मलेसियन नागरिकसहित चार जनालाई नियन्त्रणमा लिएको छ । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव रहेका छन् ।
उनीहरुलाई लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा सोमबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार, उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरु चारै जनामाथि ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।