अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, कैलाली र दार्चुला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–४ खाप बस्ने ४२ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ४२ मिलिग्रामसहित शुक्रबार बिहान पक्राउ गरेको छ । राईको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिणामको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–१ तिल्केनी बस्ने २१ वर्षीय टंक बोहरा र २२ वर्षीय पदम न्यौपानेलाई अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ । लागूऔषध खैरो हेरोइन २ ग्राम १ सय ७० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पदमको घरमा लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषधसहित दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ९ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नौगाड गाउँपालिका–५ बस्ने १९ वर्षीय विरेन्द्र सिंह धामी र सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्ना रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग.३ च ३३५१ नम्बरको बोलेरो जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जिपमा सवार विरेन्द्र र जिपका चालक लोकेन्द्रलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।