अपडेटः गाँजासहित पक्राउ परेका वाग्लेविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप
मकवानपुर । गएराति अवैध गाँजासहित हेटौंडाबाट पक्राउ परेका किरण वाग्लेविरुद्ध अनुसन्धान गर्न ४ दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत मकवानपुरले २९ वर्षीय वाग्लेलाई थप ४ दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, गएराति मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित सडकबाट प्रहरीले लागूऔषध गाँजा १ सय ६२ किलो ५८० ग्रामसहित उनलाई पक्राउ गरेको थियो ।
काभ्रेको धुलिखेल नगरपालिका–१२ शंखु ओखरकोट बस्ने उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा खाली क्रेटहरूको बिचमा लुकाई छिपाई ल्याएको ११ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वाग्लेलाई पक्राउ गरिएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।