बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुग्यो

तु खबर संवाददाता
२०८१ कार्तिक २७,मंगलवार १३:४७

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एउटा नयाँ मन्त्रालय खडा गरेर प्रदेशमा मन्त्रालयको संख्या १४ पुर्याएको हो ।

मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बसेको बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

विना विभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार, विना विभागीय मन्त्री श्रेष्ठलाई अब छिट्टै नै जिम्मेवारी प्रदान गरिनेछ ।

सरकारको नेतृत्व लिएको १११ दिन नाघिसक्दा समेत श्रेष्ठले जिम्मेवारी पाएका छैनन् । नेपाली कांग्रेसको तर्फबाट सांसद् बनेका श्रेष्ठले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।