हेटौंडामा टायर पड्किएर एक जनाको मृत्यु, पाँच घाइते

तु खबर संवाददाता
२०८१ कार्तिक २७,मंगलवार १४:२८
सांकेतिक तस्वीर

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङमा पेट्रोल बोकेको ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार, मृतक ऐजाज थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका थिए । आज बिहान १ बजेको समयमा मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरबाट हावा गएको थियो ।

टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट हुँदा टाउको र शरिरको बायाँतर्फ चोट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई चितवनको नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताए ।

यस्तै, सोही घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० नं.को ट्यांकर चालक हेटौंडा–११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को ट्यांकर चालक धादिकको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौंडा–११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ का लक्ष्मण थापा घाइते भएका छन् ।

घाइतेमध्ये मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।

अन्य ४ जना घाइतेको भने उपचारपछि डिस्चार्ज भएको भइसकेको छ । उक्त घटनाको बारेमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।