बागमतीमा विपद्का कारण ५ हजार ५०३ हेक्टर धानखेतीमा क्षति
मकवानपुर । बागमती प्रदेशमा विपद्का कारण ५ हजार ५०३ हेक्टर धानखेतीमा क्षति पुगेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाहरुमा विपद्का कारण सो हेक्टर धानखेतीमा क्षति पुगेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार, प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली र धादिङ लगायतका जिल्लामा विपद्का कारण सबैभन्दा बढी धानखेतीमा क्षति पुर्याएको हो ।
तीमध्ये सबैभन्दा बढी मकवानपुरमा लगाइएको धानखेतीमा क्षति पुगेको छ । कुल २४ हजार २४७ हेक्टर क्षेत्रफलमा शत प्रतिशत धान रोपाइँ भएको मकवानपुरमा २ हजार ९०२ दशमलव ८३ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको हो ।
यसैगरी, ११ हजार ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सिन्धुलीमा ८५५, ९ हजार ९४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको काभ्रेमा ६०२ दशमलव १, ४ हजार १६३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको ललितपुरमा २११ दशमलव ५, ११ हजार १०९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको नुवाकोटमा १९८ दशमलव २२५, ११ हजार ३१२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको धादिङमा १८४ र ७ हजार ८५९ हेक्टर हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको रामेछापमा १५७ दशमलव ५५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा विपद्का कारण क्षति पुगेको छ ।
प्रदेशका सबैभन्दा बढी धान खेती भएको चितवनमा भने यस वर्ष विपद्का कारण अन्य जिल्लामा भन्दा कम क्षति पुगेको छ । त्यस जिल्लामा २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा ४५ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको प्रवक्ता कँडेलले बताए ।
यसैगरी, ३ हजार ७१९ हेक्टरमा धानखेती भएको भक्तपुरमा ८५ हेक्टर, १ हजार ४९ हेक्टर धानखेती भएको रसुवामा ६.५ र २ हजार ८१४ हेक्टर क्षेत्रफलमा धानखेती भएको दोलखामा ४ हेक्टर, ८ हजार ५७३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको सिन्धुपाल्चोक जिल्लामा भने बाढी पहिरोले क्षति नपुर्याएको प्रवक्ता कँडेलले बताए ।