मौसम खराबीका कारण हवाई उडान प्रभावित

तु खबर संवाददाता
२०८१ कार्तिक २८,बुधबार १६:३५
file-photo

काठमाडौं । मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई उडान प्रभावित बनेको छ ।

बाक्लो हुस्सु र तुवाँलोका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन । अन्य विमानस्थलबाट नियमित उडान भइरहेको छ ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।

ती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।