चैनपुर जेसीस सप्ताहः लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम
मकवानपुर । चैनपुर जेसीज मनहरीले बिहीबार लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत बिहीबार महेन्द्रज्योति माध्यमिक विद्यालय मनहरी–३ मा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम मकवानपुरका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उनले लागूऔषधको कारण धेरैले अकालमै ज्यान गुमाउन बाध्य रहेको औंल्याए ।
उनले मकवानपुर जिल्ला लागूऔषध उत्पादन, सेवन र ओसारपसारमा अग्रस्थानमा रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आफुले विशेष अभियान संचालन गरेको जानकारी दिए ।
पछिल्लो समय लागूऔषध मुख्य चुनौती बनेको बताउँदै उनले यसकै कारण धेरैले अकालमै ज्यान गुमाइरहेको उल्लेख गरे । उनले लागूऔषध नियन्त्रणका लागि परिवारसहित जनप्रतिनिधिले पनि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै, कार्यक्रममा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल र चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले मनहरी गाउँपालिकामा लागूऔषध प्रयोगकर्ता बढेको पाइएको बताए ।
उनीहरुले लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम योजनाबद्ध सञ्चालन गर्नुपर्ने औंल्याउँदै प्रहरीले मनहरी गाउँपालिका क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रम जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको हो । कार्यक्रममा महेन्द्र ज्योति माविका अध्यक्ष अष्टकुमार बर्तौला, प्रधानाध्यापक गोविन्द चौलागाईं, सल्लाहकार बिदुर थापा, जेसीजका कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम बालकृष्ण बिष्टको संयोजकत्वमा भएको हो । जेसीज सप्ताहअन्तर्गत् आज (शुक्रबार) बालजीवन ज्योति मावि मनहरी–१ मा वक्तृत्वकला प्रतियोगिता, शनिबार खुला जेसीज दौड प्रतियोगिता हुने जेसीजका महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए ।
चैनपुर जेसीज मनहरीले जेसीज सप्ताहसँगै खुला फुटबल प्रतियोगिता समेत आयोजना गरिरहेको छ ।