हेटौंडा–१२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार हेटौंडा–१२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गरेका हुन् ।
यसअघि भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा–१२ नम्वर वडाध्यक्षमा निर्वाचित भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति (जिसस) का प्रमुख बनेसँगै सो पद रिक्त रहेको थियो ।
रिक्त रहेको उक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो । त्यसको लागि प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ५ वटा मतदान केन्द्र र विष्णु ज्योती आधारभूत विद्यालय भोर्लेमा ४ वटा मतदान केन्द्र तोकिएको छ ।
सो वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमा ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय घोषणा कार्यक्रममा जिसस मकवानपुरका प्रमुख घलान, हेटौडा उपमहानगरपालिकी प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।