जलवायु परिवर्तनका कारण बागमती प्रदेशमा परेको असरबारे अन्तरक्रिया
मकवानपुर । जलवायु परिवर्तनका कारण बागमती प्रदेशका विभिन्न क्षेत्रमा परेका असरका विषयमा शुक्रबार हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रम जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएको हो ।
सो क्रममा सहभागीहरुले जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।
जलवायु परिर्वतनका कारण धेरै खालका समस्या भएको र यसको समस्या विश्वव्यापी रुपमा भएकाले पनि सबैले आफ्ना क्षेत्रबाट लाग्नुपर्ने सहभागीहरुको सझाव थियो ।
कार्यक्रम बागमती प्रदेशसभा अन्तरगतको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, बागमती प्रदेशसभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सचिव राजु श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सो क्रममा डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत राधिका शर्माले जलवायु परिवर्तनका कारण समाजमा अहिलेसम्म परेको असर र अब हुन सक्ने असरका विषयमा प्रस्तुतीकरण दिएकी थिइन् ।