मकवानपुरका झण्डै ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मकवानपुर । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुर झण्डै ४५ हजार जना आबद्ध भएका छन् ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्म जिल्लाको विभिन्न स्थानीय तहमा गरी ४४ हजार नौ सय ६१ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।
सरकारले गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको थियो । त्यसयता उक्त संख्या स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड हेटौँडा मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार, हालसम्म मकवानपुरको ८६ हजार दुई सय ७९ घर बिमामा आबद्ध भएको हो । तीमध्ये जिल्लाको सबैभन्दा बढी मनहरी गाउँपालिका र सबैभन्दा कम बागमती गाउँपालिकाका नागरिक बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
त्यहाँ क्रमशः मनहरी गाउँपालिकामा सात हजार एक सय ३१ जना र बागमती गाउँपालिकामा छ सय ८३ को स्वास्थ्य बिमा भएको प्रमुख खड्काले बताए ।
यसैगरी, हेटौंडा उपमहानगरपालिकामा २४ हजार आठ सय ३४, मकवानपुरगढी गाउँपालिकामा दुई हजार तीन सय ६६, थाहा नगरपालिकामा तीन हजार एक सय २५, भीमफेदी गाउँपालिकामा एक हजार छ सय ४२, कैलाश गाउँपालिकामा एक हजार चार सय ४९, बकैया गाउँपालिकामा दुई हजार ५६, इन्द्रसरोवर गाउँपालिकामा सात सय १५, राक्सिराङ गाउँपालिकामा नौ सय ५३ जनाको स्वास्थ्य बिमा भएको छ ।
कार्यालयमा बिमा दर्ताका लागि थप आवेदनहरु आइसकेको र ती सबै आवेदन दर्ताको तयारी भइरहेको प्रमुख खड्काले जानकारी दिए ।