हेटौंडा रनको उपाधि सञ्जिव मिजारले जिते

तु खबर संवाददाता
२०८१ मंसिर ४,मंगलवार १७:००

मकवानपुर । दोस्रो संस्करणको ‘हेटौंडा रन–२०८१’ को उपाधि हेटौंडा–१४ का धावक सञ्जिव मिजारले हात पारेका छन् । उनले निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको दौडमा हेटौंडा–१५ का धावक निश्चल तितुङ दोस्रो भएका छन् । उनले २० मिनेट ४२ सेकेण्डमा दुरी पूरा गरे ।

यस्तै, निर्धारित दुरी २० मिनेट ५१ सेकेण्डमा पूरा गर्दै हेटौंडा–१८ का अभिषेक रोक्क तेस्रो भएका छन् । हेटौंडा–१८ का मनिष गोपली चौथो र हेटौंडा–१४ का अमृत सुनार पाँचौ हुँदा हेटौंडा–१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्सान पुरस्कारबाट सम्मानित भए ।

दौडको विजेता, उपविजेता र तृतीयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौंले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई आयोजक खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा खेलकुद विकास समिति सदस्यहरु विनोद राय, विजय गौतम, सुनिल लोप्चन तथा निमित्त शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटालगायतको उपस्थिति रहेको थियो ।

दौड प्रतियोगितामा २५ जना सहभागी थिए । सहभागीहरुले हेटौंडा–१०, बुद्धचोकबाट आफ्नो दौड यात्रा सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शितलमहल चोक, ओमभवनहुँदै पुनः बुद्धचोकमा आएर आफू दौड पूरा गरेका थिए ।