स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता

तु खबर संवाददाता
२०८१ मंसिर ६,बिहीबार ०९:१५

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय ७६ जना उम्मेदवारलाई बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवार गरी कुल चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो ।

आयोगका अनुसार, तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । जसमा ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।