अवैध लागूऔधसहित आठ जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर ६,बिहीबार १७:०५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, मोरङ, सुनसरी र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय विकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७ सय ३० मिलिग्रामसहित बुधबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले केराबारी गाउँपालिका–१० बस्ने ३३ वर्षीय अनिश मगर समेत २ जनालाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २८ ट्याब्लेटसहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ मिलन चोक बस्ने ३२ वर्षीय सुजन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको रामधुनी नगरपालिका–३ पिप्रा बैठार बस्ने २७ वर्षीय शिव शंकर चौधरी र ३० वर्षीय दुलारे खाँ लाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ७० मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले दुलारेको घरबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी, रूपन्देहीको रोहिणी गाउँपालिका–३ परासी झुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र टालजेसिक २ सय एम्पुल सहित भारत नौतनवा घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले युपि ५६ एएस १७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।