चिकित्सा शिक्षा आयोगको बैठक आह्वान
काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठक बालुवाटारस्थित निवासमा बस्ने गरी आह्वान गरिएको हो । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला सो समितिका अध्यक्ष ओलीले बैठक आह्वान गरेका हुन् ।
सो बैठकमा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, आर्थिक वर्ष २०८१–०८२ का लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन, चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृति, छात्रवृत्ति पाएका तर बीचमै पढाइ छाडेका विद्यार्थी लगायत पनि बैठकमा छलफल हुने कार्यसूची रहेको जनाइएकोछ ।