हेटौंडामा वाणिज्य कानूनसम्बन्धी आधारभूत तालिम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा वाणिज्य कानूनसम्बन्धी आधारभूत तालिमको आयोजना गरिएको छ ।
तालिम नेपाल कानून व्यवसायी परिषद् लयर्स एकेडेमीको आयोजनामा शनिबारबाट सुरु भएको हो । सो तालिम ८ दिनसम्म संचालन हुने गरी आयोजना गरिएको हो ।
नेपाल बार एसोसिएसन तथा लयर्स एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको तालिममा १० वर्ष भन्दा कम अवधि कानून व्यवसायमा संलग्न भएका ४० जना कानून व्यवसायीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपाल बार एसोसिएसन लयर्स एकेडेमीका उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, वरिष्ठ कानून व्यवसायी अर्जुनप्रसाद उप्रेती, जिल्ला बार एसोसिएसन मकवानपुरका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले मन्तव्य राखेका थिए ।
यस्तै, कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश मीना गौतम सेढाई, सानुमैया डंगोल, जिल्ला अदालत मकवानपुरकी न्यायाधीश गीता श्रेष्ठ, उच्च अदालत पाटन हेटौँडा इजलासकी रजिष्ट्रार रामप्यारी सुनुवार, जिल्ला बार एसोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतको उपस्थिति रहेको थियो ।