रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १५ दिन म्याद थप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न १५ दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत कास्कीले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यससँगै लामिछानेलाई पाँचौ पटक म्याद थप गरिएको छ । यसअघि पटक–पटक क्रमशः ६, ७, १० र १५ दिनको म्याद थप गरिएको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते शुक्रबार प्रहरीले काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।
जिल्ला अदालत कास्कीले लामिछानेसहित अन्य तीन जनालाई पनि हिराशतमा राख्न आदेश दिएको छ । अदालतले छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाइलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीहरुलाई पनि १५ दिन हिरासतमा राख्न आदेश दिएको जनाइएको छ ।