देश भित्रै रोजगारी सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले युवा शक्तिको पलायनलाई रोक्न देश भित्रै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् । आइतबार प्रदेशको राजधानी हेटौंडामा आयोजित १० औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री लामाले देशमा उद्योग धन्दालाई संरक्षण गरेमा रोजगारी अवसर बढ्ने बताउँदै नयाँ उद्योगहरु सञ्चालन गर्न लगानीकर्ताहरुलाई सुरक्षाको अनुभुति दिनुपर्नेमा जोड दिए । उद्योग र उद्योगीहरुलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।
यस्तै, सो क्रममा बोल्दै उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग क्षेत्रको विकासको लागि प्रदेश औद्योगिक व्यवसाय ऐन संशोधन गर्नेे तयारीमा प्रदेश सरकार रहेको बताइन् ।
उनले प्रदेशको उद्योग तथा वाणिज्य नीति बनाउन नीति संवाद सुरु भइसकेको भन्दै स्थानीय बजार र उत्पादनलाई प्रोत्साहन गरे अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने बताइन् ।
कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरु, १३ वटै जिल्लाका उद्यमीहरु लगायतको सहभागिता रहेको थियो ।