अवैध लागूऔषधसहित ७ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, बाँके, उदयपुर, सिराहा र तनहुँ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय २० मिलिग्रामसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–७ बस्ने २३ वर्षीय जगत कठायत रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ४३ ट्याब्लेटसहित आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय धिरज पुन मगरलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–७ नर्कटे चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ७ सय ८० ग्रामसहित उदयपुरगढी गाउँपालिका–७ बस्ने ५१ वर्षीय सुवेदी काइला भन्ने युवराज खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेवासबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यसैगरी, सिराहाका भगवानपुर गाउँपालिका–४ ठाडी बसपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अनोज पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित ३ जनालाई गएराति पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १८५७ नम्बरको बसमा सवार व्यास नगरपालिका–१० बस्ने २० वर्षीय सुरेश परियार र सोही नगरपालिका–११ बस्ने २० वर्षीय विशाल तामाङलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ट्रमानिल ३ सय ४० ट्याब्लेट बरामद गरेको छ ।
साथै प्रहरीले सोही स्थानबाट ग.१ ख ८५४९ नम्बरको बसमा सवार नवलपरासी बर्दघाट नगरपालिका–४ बस्ने २८ वर्षीय कुल बहादुर थापा मगरलाई नाइट्राभेट ३० ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन ५५ क्याप्सुलसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।