हेटौंडाबाट ७१ किलो ७०० ग्राम गाँजासहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर ११,मंगलवार १३:३२

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, तिनताप्केबाट प्रहरीले सोमबार दिउँसो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध गाँजा ७१ किलो ७०० ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रव्रक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ बस्ने वर्ष २० को मिलन घलान र सोही ठाउँ बस्ने वर्ष २६ को दावा थिङ रहेका छन् । उनीहरुलाई विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, सोमबार दिउँसो साढे १२ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको  प्रदेश ३–०१–०२४ च ३०५९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गरिएको थियो ।

सो क्रममा लुकाइछिपाइ ल्याएको सो परिणामको गाँजा बरामद भएपछि गाडी चालक मिलन र सोही गाडीमा सवार दावालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।