शिक्षा, स्वास्थ, पुर्वाधारका लागि मेरो उम्मेदवारीः रविन प्रधान
मकवानपुर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका उम्मेदवार रवी कुमार प्रधान (रविन) ले वडामा शिक्षा, स्वास्थसँगै पुर्वाधार विकासका लागि आफ्नो उम्मेदवारी भएका बताएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका प्रधानले हेटौंडा–१२ मा शिक्षाको विकास गर्ने आफ्नो पहिलो एजेण्डा भएको बताएका हुन् । उनले शिक्षा समाज रुपान्तरणको प्रमुख कुरा भएकोले आफ्नो कार्यकालमा शिक्षाको विकासमा विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।
शिक्षाले असल सँस्कारको विकास हुने भएकोले समाजको विकासको लागि शिक्षा प्रमुख भएको प्रधानले बताए । प्रधानले शिक्षासँगै स्वास्थ र पुर्वाधारको विकासको लागि पनि विभिन्न योजना संचालन गरिने बताए ।
वडामा घरदैलो कार्यक्रममा उनले आफुले गरेका बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए । साथै वडाका नगरिक, राजनैतिक दलहरुसंगको सल्लाह र सहकार्यमा साझा विकासका योजनाहरु संचालन गरिने उनको भनाई छ ।
घरदैलो कार्यक्रममा वडाबासीको उत्साहजनक सहभागिता, स्वागत र साथले आफुमा उत्साह बढेको बताउँदै उनले मतदाताहरुले आफुलाई मतदान गरि विजयी गराउनेमा आफु विश्वस्त रहेको बताए । उनले सम्पूर्ण मतदातासमक्ष आफुलाई मतदान गर्नको लागि अनुरोध पनि गरे ।