उपनिर्वाचनः आज रातिदेखि मौन अवधि सुरु
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचन अन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।
मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
सो समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत् मत माग्न पाइने छैन ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएन र भएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाइएको छ ।
आगामी आइतबार देशभरको ३३ जिल्लाका ४४ पदमा उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक÷एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । जसमा पुरुष एक लाख १४ हजार ९००, महिला एक लाख ११ हजार ८९६ र अन्य ३ जना मतदाता रहेका छन् ।
४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुने जनाइएको छ ।