अवैध लागूऔषधसहित १२ जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर १३,बिहीबार १६:०४
file-photo

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, मोरङ, काठमाडौं, झापा, महोत्तरी, कैलाली र धादिङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय ९० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दैलेख गुरास गाउँपालिका–७ बस्ने २२ वर्षीय बखत बहादुर विक र चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ बस्ने ३६ वर्षीय लोकेन्द्र थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, मोरङको जहदा गाउँपालिका–१ बस्ने ५० वर्षीया मिरादेवी बैठालाई अवैध लागूऔषध गाँजा १५ किलोग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यता, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्रामसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका–१२ बस्ने २६ वर्षीया रूकमणी सुनाहा, देवकोट नगरपालिका–२ बस्ने २० वर्षीया रेखा पाल र काभ्रे रोशी गाउँपालिका–१ बस्ने २२ वर्षीय धर्मलाल लामा रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २ सय ८० मिलिग्रामसहित शिवसताक्षी नगरपालिका–८ बस्ने २१ वर्षीय संजय राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीलेल भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, झापाको दमक नगरपालिका–८ सहिदमार्ग बिरानटोलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थानसहित इलाम चुलाचुली गाउँपालिका–३ बस्ने २८ वर्षीय उपेन्द्र बान्तवालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित गरेको हो ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका–३ काटा गौरीडाँडास्थित सडकबाट ब्राउनसुगर १० ग्राम ८० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका–६ छाप बजार बस्ने ३३ वर्षीय सबिन कुमार लाखे र सिन्धुली साङ्वाले नगरपालिका–४ बस्ने २४ वर्षीय संजिव पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको साईरनमा जडान गरिएको माईक्रोफोन भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी चालक सबिन कुमार र एम्बुलेन्समा सवार संजिवलाई पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका–३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्रामसहित जानकी गाउँपालिका–७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित गल्छी गाउँपालिका–७ बस्ने ३८ वर्षीय रमेश तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरवाहवातर्फ जाँदै गरेको लु.२ ख ६९९७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।