बागमती प्रदेश लोक सेवा आयोगको सदस्यमा खड्का
मकवानपुर । लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्का नियुक्त भएका छन् । उनलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार आयोगको सदस्यमा नियुक्त गरेका हुन् ।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
तत्कालिन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागू हुने गरी २ कात्तिकमा राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।
प्रदेशको दोलखा जिल्ला गौरिशंकर गाउपालिका वडा नम्वर ५ निवासी खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुक्तिको लागि २ मंसिर २०८१ को मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो ।
मंसिर ५ गते प्राप्त सिफारिस अनुसार उनलाई प्रदेश प्रमुख देवकोटाले सदस्य पदमा नियुक्त गरेका हुन् ।
उनको सपथ भने अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।