१२ विधामा पुरस्कार प्रदान गर्ने नाष्टको निर्णय

तु खबर संवाददाता
२०८१ मंसिर १३,बिहीबार १७:३३

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले विभिन्न १२ विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बैठकले नाष्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति विद्या भट्टराईले सार्वजनिक खरिद ऐन बमोजिम नाष्टका खरिदसम्बन्धी प्रबन्ध गर्न ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. दिलीप सुब्बाले आवश्यक गृहकार्य गरेर नियमावलीहरु संशोधनको प्रस्ताव ल्याइने प्रतिबद्धता जनाए ।