उपनिर्वाचनः मौन अवधि लागू
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि गएरातिबाट लागू भएको छ ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गएराति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मौन अवधि लागू भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, सो अवधिमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम विभिन्न नियमहरू पालना गर्नुपर्ने हुन्छ ।
आयोगले सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्ति सबैले आचारसंहिता पालन गर्न अनुरोध गरेको छ ।
यदी कसैले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गरेको पाइएमा कानूनी बमोजिम कारबाही हुने जनाइएको छ ।