हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी गोष्ठी

तु खबर संवाददाता
२०८१ मंसिर १४,शुक्रबार ०९:३३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको छ ।

आजसम्म संचालन हुने उक्त गोष्ठी प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा बिहीबारबाट सुरु भएको हो ।

गाष्ठीको प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्घाटन गरेका हुन् । सो क्रममा उनले खानेपानीलाई नागरिकको स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले गुरुयोजनाबिना खानेपानीका योजना बन्दा यसले समस्या निम्त्याउने भन्दै विगतमा खानेपानीको उच्च माग रहेकोमा अहिले सडकको माग हुन थालेको बताए ।

यस्तै, सो क्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का र प्रदेशका प्रमुख सचिव हरिप्रसाद लम्सालले स्थानीय तहले समयमा नै खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाउनुपर्नेमा जोड दिए । उनीहरुले आफूसँग भएको स्रोतसाधनको अधिकतम प्रयोग गर्दै विकास आयोजना सञ्चालन गर्नुपर्ने चर्चा गरेका थिए ।

कार्यक्रममा मकवानपुरका जिल्ला समन्वय समिति (जिसस) का प्रमुख ललित घलान, अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा. अर्जुन कार्की, प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्यलगायतले प्रदेशको खानेपानीको अवस्थाको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

गोष्ठीमा रजित ओझा र नवीन अधिकारीले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना र खानेपानी तथ सरसफाइको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा बागमती प्रदेशको मकवानपुरगढी, बकैया, कैलाश, तामाकोशी, गल्छी, गोदावरी, महाभारत, मेलुङ, गोदावरी, राक्सिराङलगायतका २२ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको छ ।