हेटौंडा–१२ मा उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइयो

तु खबर संवाददाता
२०८१ मंसिर १४,शुक्रबार १०:२२
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचन सम्पन्न गर्न ४५ जना कर्मचारी खटाइएको छ ।

खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी हुन् ।

निर्वाचन गराउन आवश्यक पर्ने ५८ प्रकारका सामाग्री कर्मचारीहरुलाई हस्तान्तरण गरिएको छ । २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र तोकिएको छ ।

मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनले मतदान हुने अघिल्लो दिन रातीदेखि नै मतदान हुने वडा सिल गर्ने सुरक्षा तयारी रहेको बताए ।

उनका अनुसार, मतदान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन हुनेछ ।

सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको उनले बताए । साथै उनले निर्वाचन भएलगत्तै हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना गर्ने तयारी गरिएको बताए ।