हेटौंडा दुर्घटना अपडेटः गम्भीर घाइते राईको मृत्यु
मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित आज बिहान अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने वर्ष ६८ को जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार, बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
अटोले ठक्कर दिँदा टाउको र शरिरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्काल उद्दार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताए ।
अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शंकर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।