सामाजिक सञ्जालमार्फत् भ्रम फैलाउनेलाई गृहले कारबाही गर्ने

तु खबर संवाददाता
२०८१ मंसिर १४,शुक्रबार १६:३३

काठमाडौं । गृह मन्त्रालयले फेसबुक र टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत् भ्रम फैलाउनेलाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्ने जानकारी गराएको हो ।

सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सु–व्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति फैलाउन काम भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ ।’