उपराष्ट्रपति र थाइल्याण्डका राजदूतबीच भेटवार्ता

तु खबर संवाददाता
२०८१ मंसिर १४,शुक्रबार १७:०२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्नबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

सो क्रममा शुभकामना आदानप्रदानका साथै दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन, व्यापार क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहँदै आएको उल्लेख गरे । उनले दुबै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताए ।

यस्तै, नेपालका लागि थाइल्याण्डका राजदूत सिरिसोर्नले दुई देशबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेको बताए । उनले बुद्ध धर्मलाई केन्द्रमा राखेर हेर्दा धेरै कुरा दुबै देशमा साझा रहेको उल्लेख गरेका थिए ।