हेटौंडा उपमहानगरका वडामा शुन्य बन्यो माओवादी

तु खबर संवाददाता
२०८१ मंसिर १७,सोमबार ०८:२२

मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका १२ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा कूल १९ वडामध्ये माओवादीले १२ नम्वर वडामा मात्रै जित निकालेको थियो । माओवादीबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछी रिक्त पदमा उपनिर्वाचन गर्नुपरेको हो ।

उक्त वडामा नेपाली कांग्रेसका तिवारी निर्वाचित भएसँगै माओवादी जनप्रतिनिधिविहिन बन्न पुगेको हो । सो वडामा नेकपा एमालेबाट ४ जना सदस्य छन् ।

दुई पटक लगातार माओवादीले जितेको १२ नम्बर वडामा अहिले कांग्रेसले जित निकालेको हो । तिवारीले २ हजार ६३ मत ल्याएका छन् भने माओवादीका रविकुमार प्रधानले १ हजार ५६० मत ल्याए । त्यस्तै नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १ हजार ३९८ मत पाए ।

बागमती प्रदेशको राजधानीसमेत रहेको एकमात्र उपमहानगर हेटौंडामा गत २०७९ को निर्वाचनमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन थियो ।

वडा अध्यक्षमा पनि सबै दल प्रतिस्पर्धी थिए । मेयरमा नेकपा एसकी मिनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँले जितेका थिए ।

कांग्रेसले उपनिर्वाचनमा जित निकालेर एमालेसँग बराबर ९ वडा जित्न सफल भएको छ । नेकपा एसकले १ वटा वडा जितेको थियो ।

अब हेटौंडामा कांग्रेससँग १, २, ३, ६, ७, ८, १२, १६ र १७ नम्बर वडा अध्यक्ष छन् । एमालेसँग ४, ५, ९, १०, ११, १३, १४, १५, १८ र १९ नम्बर वडामा अध्यक्ष छन् ।